तेह्रथुम, ६ पुसः खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए ।
खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए । अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिनुभयो । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।