काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज ‘भर्चुअल’रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गर्नुभएको हो । उहाँले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रुपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्नेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो ।
खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गर्नुभयो । ‘भर्चुअल’रुपमा उद्घाटन गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुभएको थियो ।