
काठमाडौँ । धार्मिक, पर्यापर्यटन र खेलकुदको दृष्टिकोणले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकामा ११ औं पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको सफल आयोजनाले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको वडा १ का वडाध्यक्ष मकुन्द गजुरेलले जानकारी दिनुभएको छ।
नगरपालिकाका सबै वडा अध्यक्षहरूको समन्वयमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सवको तयारी गरिएको थियो। महोत्सवले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको प्रचार-प्रसार गर्ने उद्देश्य पूरा गरेको छ। साथै, स्थानीय खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्दै युवाहरूमाझ खेलकुद प्रतिको रुचि बढाउने लक्ष्य सफलतापूर्वक हासिल भएको आयोजक समितिले जनाएको छ।
महोत्सवमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका पर्यटनमन्त्री बद्री पाण्डे सहभागी हुनुभएको थियो। साथै, नगर प्रमुख उपेन्द्र कार्की र उप प्रमुख शान्ता थापा विशेष अतिथि रहनुभएको थियो। प्रमुख अतिथि पाण्डेले कागेश्वरी मनोहरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख कार्कीले स्थानीय पर्यटन प्रवर्द्धनमा यस्ता महोत्सवहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो भने उप प्रमुख थापाले स्थानीय संस्कृतिको जगेर्ना गर्ने लक्ष्य पूरा भएको बताउनुभयो।
महोत्सवमा कलाकार मनोज गजुरेल लगायतका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो, जसले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्यो। स्थानीय सांस्कृतिक झाँकी, विभिन्न प्रतियोगिता, खेलकुद गतिविधि तथा हस्तकला प्रदर्शनीहरू समेत महोत्सवको मुख्य आकर्षण थिए।


