काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र सर्वसाधारण समूहबाट २ जना सहित ६ जना सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

बैंकको संस्थापक समूहबाट दिपंकर शाक्य उदय, मदन कुमार आचार्य, पृथ्वी बहादुर पाँडे र प्रजन्य राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण समूहतर्फ कविकुमार टिबरेवाला र शालिक राम बेल्वासे निर्वाचित भएका हुन्। साथै, विकास थापा, बन्दना पाठक र बन्दना थापा भने पराजय ब्यहोर्दा उम्मेदवारी दिएका बरुण श्रेष्ठले अन्तिम समयमा नाम फिर्ता लिएका थिए । बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी परेको उल्लेख छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब पुगेको छ । त्यसैगरी बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो । यो वर्ष बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड र कुल सेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।


