काठमाडौँ : एमाले महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकामा कार्यकारी अधिकृत जानै नमानेको दाबी गरेका छन् । बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाएपनि वास्तविकता फरक रहेको उनको जिकिर छ । ‘काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन’, पोखरेलले शुक्रबार राति फेसबुकमा भनेका छन् ।
कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने पोखरेलको भनाइ छ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने भनाइ छ । यसअघि शुक्रबार नै बालेनले एमाले अध्यक्ष केपी ओलीले कार्यकारी अधिकृत नपठाएको भनेर आक्रोश पोखेका थिए । त्यसैको काउन्टरमा पोखरेल उत्रिएका हुन् ।


