५ आश्विन २०८१, शनिबार 1726908342
विश्व

अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने

काठमाडौं- ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने भएका छन् ।

रुसी समाचार संस्था तासले जनाएअनुसार रुसको राजधानी मस्कोमा रहेका ती मुलुकका नियोगले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने जनाएका हुन् ।

एक भर्चुअल कार्यक्रममा रुसका लागि अर्जेन्टाइन राजदूत एदुआर्दो एन्टोनियो जुइनेले यस्ता प्रतिबन्धहरु अर्थहीन रहेको बताएको तासले जनाएको छ ।

त्यस्तै, रुसका लागि ब्राजिलका राजदूत रोड्रिगो बाइना सोआरेसले पनि खाद्य सुरक्षालाई असर पार्ने भएकाले ब्राजिलले पनि यस्ता प्रतिबन्धको समर्थन गर्न नसक्ने बताए । उनले ब्राजिल ल्याटिन अमेरिकामा रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको समेत बताए ।

त्यस्तै, रुसका लागि भेनेजुएलाका राजदूत कार्लोस रफायल फारिया टोर्टोस्टाले क्युबा र निकारागुवाजस्तै आफ्नो मुलुकपनि प्रतिबन्धबीच बाँचिरहेको भन्दै रुसमाथिको प्रतिबन्धलाई समर्थन गर्न नसकिने बताएको तासले जनाएको छ ।