काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा ११ जना सदस्यसहितको वीमेन्स फोरमको गठन गर्यो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो ।

यस फोरमले आज (फागुन २३ गते) कम्पनीको प्रधान कार्यालय, थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि वक्ता दीपा दाहाल (उपकार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड) को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमकी अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पारिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तीकरणका लागि महिला आफैँले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तीकरणको लागि प्रोत्साहनसमेत गरिन् ।


