काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुठ्ठीभरका मानिसहरुले चाहँदैमा राजतन्त्र पुनर्स्थापना नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै उनले २०६२/०६३ को जनआन्दोलन र संविधान सभाबाट उन्मुलन भइसकेको राजतन्त्र अब पुनर्स्थापना नहुने बताएका हुन् ।
‘राजतन्त्रलाई नेपाली जनताले पहिला नै उन्मुलन गरिसकेका छन् । कुनै एउटा खास शक्ति विशेषले राजतन्त्रलाई उन्मुलन गरेको होईन । नेपाली जनताले २०६२÷०६३ मा गरेको राष्ट्रव्यापी जनक्रान्ति र त्यसपछिको संविधान सभाको पहिलो बैठकले देशभरीका जनप्रतिनिधिहरुको निर्णयबमोजिम राजतन्त्रको उन्मुलन भएको हो । मुठ्ठीभरका मानिसहरुले चाहँदैमा राजतन्त्र पुनर्स्थापना भन्ने कुराको कल्पना पनि गर्न सकिँदैन अब,’– उनले भने ।
साथै, उनले पूर्व विशिष्टहरुलाई सेवा सुविधा दिनका लागि तयार गरिएको विधेयकको विरोध गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले शिरदेखि तिरसम्म रहेको भ्रष्टाचार उन्मुलन गर्नेतिर लाग्न छाडेर यस्ता प्रकारको गतिविधिमा वर्तमान सरकार र सांसदहरु लागेको खण्डमा दुर्भाग्य हुने उनको चेतावनी छ ।