पाल्पा । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रवार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाई छ । ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारेका हुन् ।
अहिले सरकारका विरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिए । उनले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्न सक्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताए । नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिंहले आउँदा चुनौती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए । ‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्यो । यो गुट त्यो गुट होइन एकताबद्ध बलियो कांग्रेस बनाउन लागौँ’ उनले भने, ‘कांग्रेसको मूल चुनौती नै पार्टी व्यवस्थापन हो । पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौँ ।’