काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ ।


