बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा दुईपक्षीय भेटवार्ता हुने भएको छ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको द्विपक्षीय भेटवार्ता तय भएको बताएकी हुन्। अपरान्ह ४ बजेदेखि ४ः२० सम्मको समय दुइदेशका प्रधानमन्त्रीबीचको भेटवार्ताका लागि छुटयाइएको देउवाले बताईन । थाइल्याण्डको बैंककमा आगामी शुक्रवार शुरु हुने बिमस्टेक शिखर सम्मेलनको दौरान नेपाली र भारतीय प्रधानमन्त्रीबीच द्विपक्षीय भेट हुन लागेको हो।

ओली प्रधानमन्त्री भएपछि भारतको औपचारिक भ्रमणमा जाने टुङ्गो नलागे पनि दुवै देशका प्रधानमन्त्रीबीच बैंककमा द्विपक्षीय वार्ता हुन लागेको जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भेट सकारात्मक र फलदायी हुने विश्वास लिएको बताइन्।
मन्त्री राणाले नेपाल र थाइल्याण्डबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको क्षेत्रमा महत्वपूर्ण सम्झौताहरु भएको बताइन्। उनले थाइल्याण्डको निजी क्षेत्रले समेत नेपालसँग मिलेर प्रविधिको क्षेत्रमा कामहरु गर्ने इच्छा जाहेर गरेको बताइन्।
उनले नेपाल र थाइल्याण्डका विभिन्न विश्वविद्यालयहरुबीच सम्झौतामा हस्ताक्षर भएको उल्लेख गर्दै सरकार त्यहीअनुसारको कार्ययोजना बनाएर अघि बढ्ने बताइन्।


