फुङ्लिङ : पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा मृत्यु भएका चारजना यात्रुको सनाखत भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चँुडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।


