५ आश्विन २०८१, शनिबार 1726913760
राजनीति

संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ : प्रकाशमान सिंह

काठमान्डौ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, “कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटक–पटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठनबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।”

नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा आज चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री श्रेष्ठले संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठनबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “जनताका सेवक भई पाँच वर्ष चन्द्रागिरि नगरकोको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विकासमा नवीनतम काम गरेका नगरप्रमुख नै पुनः मेयर पदको उम्मेदवार बन्नुभएको छ । उहाँको अधुरा काम पूरा गर्न उहाँ सहित गठबन्धनका उम्मेदवारलाई पुनः मतदान गर्न म नगरवासीलाई आग्रह गर्दछु ।”

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसीले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम बनेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले बाध्यता र राष्ट्रिय आवश्यकताले सरकारको नेतृत्व गरेको हो । सरकारले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको हो । यो निर्वाचनमा चन्द्रागिरिको विकासमा अथक योगदान दिँदै आउनुभएका पूर्व नगरप्रमुखको गठनबन्धनको टिमलाई अत्यधिक मतले विजय गराउन म नगरवासीसमक्ष आग्रह गर्दछु ।”