ललितपुर : राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायतलाई रिहा गर्न माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।
रिले अनसन प्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डे आइतबार ललितपुरको जावलाखेल पुगेका हुन् । राजावादीले आयोजना गरेको रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीहरुको रिहाइ गरिनुपर्ने र मानव अधिकारको सम्मान गरिनुपर्ने बताएको राप्रपाका नेता निरञ्जन थापाले बताए ।
रिले अनसन तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ । झुटा मुद्दामा सरकारले राप्रपाका नेता मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।


