काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा बजेटमा पर्याप्त चलखेल गर्न खोजिएको देखिने बताएका छन्। सोमबार (आज) बसेको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै पुनले यस्तो बताएका हुन्।
‘सदा नीतिसँगै कार्यक्रम प्रस्तुत हुन्थ्यो। तर, यसपटक नीति मात्रै छ। यसले के शङ्का उत्पन्न भएको छ भने एकातिर नीतिमा मेहनत गर्न नचाहेको, नसकेको वा प्रस्तुत गर्ने नयाँ विषय नै नरहेको जस्तो देखिन्छ। बजेटमा पर्याप्त चलखेल गर्न खोजिएको देखिन्छ। अमूर्त नीतिहरू छन्, कार्यक्रम के हुन्छ ? सामाजिक न्यायसम्बन्धी कार्यक्रम के हुन्छ ? महिला, दलित, मधेसीसम्बन्धी कार्यक्रम के हुन्छ ? छोरीबारे, सिँचाइबारे, कर्णाली, सुदूरपश्चिमजस्ता विकासमा पछि परेका क्षेत्रहरूबारे के कार्यक्रम हो ? ती स्पष्ट गरिएको छैन,’ उनले भने।
यस्तै अर्थतन्त्रबारे पनि स्पष्ट नीति र कार्यक्रम नआएको पुनले बताए। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले भने, ‘समग्रमा अर्थतन्त्र चलायमान बनाउनका लागि के गरिन्छ ? यसबारे पनि नीति तथा कार्यक्रमले बोलेन,’ उनले भने।


