धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनसरीको धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बस चालक सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ५१ वर्षीय रुद्र तामाङ र भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तामाङको सोमबार बेलुका र श्रेष्ठको मंगलबार विहान मृत्यु भएको हो । योसँगै दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । दुर्घटनामा परी धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबारै मृत्यु भएको थियो ।
सुनसरीको धरानबाट भोजपरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमवार बिहान धनकुटा–६ स्थित गोठगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका ११ जनाको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


