८ मंसिर २०८१, शनिबार 1732384471
Banner

मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवामा

बुटवल । बुद्धजयन्तीको दिन हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । बुधबार भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) सवार विमान भैरहवा आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको हो । नयाँ दिल्लीबाट सोझै उक्त विमान भैरहवा आएको हो ।

योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ । जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भारतीय सेनाको विशेष विमानबाट भैरहवा आएको हो। टोलीमा ३० जना रहेको बताइएको छ ।
उनीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन् । उनीहरुलाई छोडेर विमान आजै फिर्ता जानेछ ।