काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट निर्धारण गरी काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भइसकेपछि थन्किएको बताउँदै उक्त विमानस्थल निर्माण हुनुपर्ने बताए ।
उनले बुढी गण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलाशययुक्त आयोजना निर्माणमा बजेटमा ध्यान दिन आग्रह गरे । उनले लामो समयदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधुरो अवस्थामा रहेकाले त्यसलाई पूरा गर्ने गरी बजेट ल्याउन सुझाव दिए । सांसद पाण्डेले प्रधानमन्त्रीले सिंहदरबारबाट रिमोट थिचेर ५ शैंयाका अस्पताल प्रत्येक पालिकामा बनाउने बताएका थिए । उक्त अस्पतालहरू निर्माणका लागि यो बजेट आउनेछ भन्नेमा आफू ढुक्क रहेको बताए ।


