काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा विश्व पौडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । तर बैठकले पहिलो नम्बरमा रहेका पौडेललाई राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेको हो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ । दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिनापछि नयाँ गभर्नर पाएको हो ।

अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टका प्रोफेसर थिए । त्यस्तै, पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।


