जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको भन्दै कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । जनकपुरमा शुक्रबार आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने बताए । सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न उनको निर्देशन छ ।
सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गरे । नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले बिपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने पनि उनको भनाइ छ । गृहमन्त्री लेखकले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए ।


