७ जेष्ठ २०८३, बिहिबार 1779370173
पर्यटन

पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण

पर्वत, १० जेठः जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गर्नुभएको छ ।

उहाँले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गर्नुभएका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गर्नुभएको थियो । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उहाँले बताउनुभयो । “आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भन्नुभयो । आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो । हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताउनुभयो । हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उहाँले बताउनुभयो ।

म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहनुभएका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताउनुभयो । उहाँले हिमाल आरोहणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय उल्लेख गर्नुभयो । उहाँले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।