काठमाडौं : नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले देशको पर्यटन प्रवर्द्धनमा युवा सहभागिता सुनिश्चित गर्नका लागि युवा पर्यटन सञ्जाल गठन गरेको छ। सञ्जालको गठन परिषद्को युवा सञ्जाल गठन तथा परिचालन कार्यविधि २०७६ को परिच्छेद ३, दफा ५ बमोजिम गरिएको हो।
सञ्जालको केन्द्रीय संयोजक (अध्यक्ष)का रूपमा बागमती प्रदेश, ललितपुरका अनुभवी पर्वतारोही अनुप सुबेदी चयन भएका छन्। सुबेदीले नेपालसहित विदेशका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्।
वरिष्ठ उपाध्यक्षमा थुप्रैपटक सगरमाथा आरोहण गरेका र पर्यटन क्षेत्रमा सक्रिय दावा फिन्जो भोटे चयन भएका छन्। सचिवमा कर्णाली प्रदेश, सुर्खेतकी बिनिता बोगटी र सह–सचिवमा हुम्लाका धार्मिक पर्यटन क्षेत्रमा क्रियाशील भानुभक्त चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी भने श्रृष्टि तामाङलाई दिइएको छ।
सञ्जालमा सतिश खत्री, रुपक शिलवाल, रमित मल्ल, राजकुमार शाही, दिनेश श्रेष्ठ, अजय यादव, महेश जैशी, र हरि शर्मा न्यौपानेसहित कुल १५ जना सदस्य चयन भएका छन्।
युवा पर्यटन सञ्जालको उद्देश्य नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्दै पर्यटन विकासमा टेवा पुर्याउनु रहेको छ। परिषद्ले सञ्जालको माध्यमबाट विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने जनाएको छ।


