काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्दैछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको हो।

बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण, आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्ताव, र हाल चर्चामा रहेको ‘भिजिट भिसा’ प्रकरण लगायतका समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्। कांग्रेसले सदस्यता नवीकरणको लागि असार मसान्तसम्मको समय निर्धारण गरिसकेको छ। उता, सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा पेस गर्ने तयारी गरेको छ।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराएको आरोपसँगै गृह मन्त्रालय विवादमा तानिएको छ। यसै प्रकरणमा अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् भने गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीहरूमाथि पनि संलग्नताको आशंका उठेको छ।
गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै संलग्नता नरहेको दाबी गरे पनि पार्टीभित्रै उनको राजीनामा माग्ने स्वरहरू चर्कंदै गएका छन्। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। कोइरालाले भने, “नैतिकताको हिसाबले म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्। त्यसले मोरल स्ट्याटस देखाउँछ।”
उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सहयोग पुर्याएको उदाहरण दिँदै लेखकले पनि सोही बाटो अपनाउनुपर्ने धारणा राखेका छन्।
यसैबीच, प्रमुख विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिए मंगलबार संसद् अवरुद्ध गर्ने चेतावनी दिइसकेको छ। कांग्रेसभित्र विभिन्न धारणा रहेकाले पार्टीले एकमत आधिकारिक धारणा बनाउन आजको बैठक बोलाइएको हो।


