काठमाडौं । परम्परागत शैलीसँग आधुनिकताको उत्कृष्ट ‘ब्लेन्ड’ हो आगन्तुक रिसोर्ट । झट्ट हेर्दा माटैमाटोले बनेको पुरानो घर जस्तो देखिने आगन्तुकको आवरणले ‘के यो स्टार होटल होला त !’ भन्ने शंका जो कसैको मनमा उब्जन सक्छ । तर, वास्तविकता फरक छ । धुलिखेलको शान्त र मनोरम वातावरणमा अवस्थित आगन्तुक रिसोर्ट एक विलासी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य हो, जहाँ तपाईले घाम र कुहिरोको लुकामारीको मज्जा लिन सक्नु हुनेछ ।

ज्ञवाली परिवारको परिकल्पनाले जन्मिएको ‘आगन्तुक’ अहिले ७० जना कर्मचारीको टिमसहित अध्यक्ष सरस्वती ज्ञवाली र कृष्ण ज्ञवालीको अभिभावकीय भूमिकामा हुर्किरहेको छ । ७० रोपनीको क्षेत्रफलमा फैलिएको आगन्तुक रिसोर्टभित्र हेलिप्याड, स्वीमिङ पुल, साउना स्टिम, फिटनेस सेन्टर, रेष्टुरेन्ट र बार समेत सञ्चालनमा छन् ।
५२ वटा रुमबाट ओपनिङ भएको आगन्तुकले सुरुवाती तीन महिनामा नै कोरोनाको महामारी खेप्नुपर्यो । त्यसपछिको उतारचढापलाई झेल्दै यो अवस्थासम्म आइपुग्दा आगन्तुक रिसोर्टमा २० वटा थप रुम सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । आगामी दशैँसम्म थपिएको रुमहरु पनि अपरेशनमा ल्याइने रिसोर्टका रेसिडेन्ट म्यानेजर बिमल पौड्याल बताउँछन् ।
शान्त, जंगलको ठ्याककै पछाडि, काभ्रेको पवित्र स्थल गोसाइथानसँग जोडिएको आगन्तुकबाट सगरमाथासहित १८० डिग्रीको सराउण्डिङमा अन्य हिमालको दृश्य देख्न सकिन्छ । त्यस्तै, यहाँ उपलब्ध ८ वटा डिलक्स रुमबाहेक ४४ वटा रुमको आफ्नै बाल्कोनी छ । ती प्रत्येक रुमबाट हिमालको मनोरम दृश्य देखिनुका साथै प्रत्येक रुममा घामको तापको मज्जा पनि लिन सकिन्छ । यसबाहेक रिसोर्टमा बैठक, तालिम, सेमिनार विवाह, पास्नी, ब्रतबन्ध लगायत शुभकार्य गर्न पाउने सुविधा छ। यसका लागि यहाँ ४ सय जना र १ सय ८० जनाको क्षमता रहेको दुई वटा ब्याङ्क्वेट हल छन् । यहाँको अर्को विशेषता भनेको बालबालिकाको लागि कुनै कार्यक्रम हुँदा उमेर अनुसारको खानाको मेनु हो । यहाँ शुद्ध नेपाली खानाका परिकारसहित पर्यटकको इच्छा अनुसारका जुनसुकै खानाको स्वाद उपलब्ध छ ।
पर्यटकको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै रिसोर्टमा प्रयोग हुने सामाग्रीमा कुनै पनि किसिमको कम्प्रमाइज नहुने म्यानेजर पौड्याल बताउँछन् । उनका अनुसार रिसोर्टमा २४ सै घण्टा सुरक्षा गार्डहरुले सुरक्षा प्रदान गरिरहेका हुन्छन् । केही दिन बस्न आउने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर रिसोर्टले आफैँ पकाएर खान पाउने सुविधा पनि उपलब्ध गराएको छ । खाद्य सामग्री ग्राहक आफैँले ल्याउन सक्छन् भने रिसोर्टबाटै लिन पनि पाइन्छ ।
रेसिडेन्ट म्यानेजर पौड्यालका अनुसार रिसोर्टमा अहिलेसम्म दुई अर्बको लगानी भइसकेको छ । अब पूर्ण क्षमतामा सञ्चालनमा ल्याएर रिसोर्टलाई पाँचतारे मान्यताप्राप्त बनाउने तयारी भइरहेको छ । रिसोर्टमा रुम र ब्रेकफास्टको प्याकेज ८ हजारदेखि २० हजारसम्म उपलब्ध छ भने रुमसहित ब्रेकफास्ट र डिनरको प्याकेज १० हजारदेखि २५ हजारसम्म उपलब्ध छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ३० किलोमिटरको दूरीमा रहेको आगन्तुक रिसोर्टको अर्को विशेषता ठूलो ‘वाटर गार्डेन’ हो। त्यस्तै प्रत्येक शुक्रबार साँझ ६ देखि ९:३० बजेसम्म लाइभ म्युजिकको सुविधा छ। यसका लागि अतिरिक्त रकम तिर्नुपर्दैन।
रेसिडेन्ट म्यानेजर पौड्यालका अनुसार रिसोर्टका मुख्य ग्राहक आन्तरिक नै छन्। आगामी दिनमा बाह्य पर्यटक आकर्षित गर्ने काम भइरहेको छ। कम्तीमा ४० प्रतिशत विदेशी ग्राहक पुर्याउने योजना छ।
रिसोर्टको लुक्सले नै ब्रान्डिङमा सहयोग पुगिरहेको र यहाँ आउने पर्यटकले ‘आहा ! फरक रहेछ’ भन्ने खालको प्रतिक्रिया दिने गरेको म्यानेजर पौड्याल बताउँछन् । प्रकृतिले पनि रिसोर्टलाई साथ दिएको छ । जाडो महिनामा कहिल्यै हुस्सु नलाग्ने तर वर्षायाममा एकछिन पानी पर्दा पनि सरर हुस्सु आउने र जाने मीठो मौसमको अनुभूति लिन सकिन्छ । पर्यटकलाई आकर्षित गर्न सरकारी तवरबाट गर्नुपर्ने कामहरु भैदियो भने र स्पष्ट नीति नियम, स्थिर सरकार भइदियो भने यस क्षेत्रमा थप टेवा पुग्ने पौड्याल बताउँछन् । उनी भन्छन्, ‘अतिथि सत्कारका लागि नेपालीहरु विश्वमा नै कहलिएकै हो । यहाँ आउनुपर्ने पर्यटकहरु नाच खुम्च्याएर जानुपर्ने अवस्था नै छैन ।’
एक पटक आएका पर्यटकलाई पुनः आउने वातावरण बनाउन सक्नु नै सफलता हो जुन आगन्तुक रिसोर्टले बनाएको छ । छोटो यात्रामा नै व्यस्त दैनिकी र कोलाहल शहरी वातावरणबाट पुनर्ताजगीका लागि आगन्तुक रिसोर्ट पर्यटकको रोजाईमा पर्ने गरेको छ ।


