३ जेष्ठ २०८३, आइतबार 1779033462
समाज

त्रिविमा तोडफोड गर्नेलाई कारबाही अगाडि बढ्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही र हानि नोक्सानीको क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढेको विश्वविद्यालयले जनाएको छ । गत १४ गते नेविसंघका नेता कार्यकर्ताले उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए ।

‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानि नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिकरुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्नेलाई पनि कारबाही प्रक्रिया सुरु भएको त्रिविले जनाएको छ ।