४ आश्विन २०८१, शुक्रबार 1726859340
Banner

राजनीतिक दलका शिर्ष नेताले कहाँबाट गर्दैछन मतदान ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न राजनीतिक दलका शीर्ष नेता आआफ्नो मतदाता नामावली रहेको गाउँसहर पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुग्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) बाट मतदान गदैहुनुहुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गदैहुनुहुन्छ । विहान ११.३० बजे उहाँले मतदान गर्ने उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा झापाबाट प्रतिनिधित्व गर्दै आउनुभएका ओलीको मतदाता नामावली बालकोटमै रहेको छ । बालकोटमा उहाँको मतदाता नामावली भएकाले गत प्रतिनिधिसभाको निर्वाचनमा उहाँ आफैले आफैंलाई मतदान गर्न पाउनुभएको थिएन ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गदैहुनुहुन्छ । भरतपुर पुग्नुभएका दाहाल स्थानीयसँग निवासमै भेटघाटमा व्यस्त रहेको उहाँको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्दैहुनुहुन्छ । उहाँले रौतहटको गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम जिल्लाको सूर्योदय नगरपालिका–९ का मतदाता हुन् । करफोकस्थित करफोक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्न उहाँ इलाम पुग्नुभएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौंको मध्य बानेश्वरमा रहेको मतदान केन्द्रबाट मतदान गदैहुनुहुन्छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गदैहुनुहन्छ। यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गदैहुनुहुन्छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गदैहुनुहुन्छ ।

कांग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गदैहुनुहुन्छ । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयमा मतदान गदैहुनुहुन्छ।

यस्तै, कांग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गदैहुनुहुन्छ ।

कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गदैहुनुहुन्छ। स्थानीय निर्वाचनमा निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गर्न लागेका हुन् ।

कांग्रेस नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा काठमाडौंबाट भोट हाल्ने हुनुभएको छ । उहाँका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गदैहुनुहुन्छ । नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ ।

एमालेबाट राजीनामा गरिसकेका नेता एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले योपटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने हुनुभएको छ।