काठमाडौँ । भारतको हैदराबादमा एक ३० वर्षीय नेपालीलाई आफ्नी लिभ–इन पार्टनरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि प्रेमिकाको शव ट्राभल ब्यागमा हालेर एक सुनसान स्थानमा फालेको आरोप लागेको हो । घटना जुन ४ मा सार्वजनिक भएको हो, जब ३३ वर्षीया तारा बोहराको शव हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्र नजिकै फालिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले तत्कालै आरोपी विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गर्यो । उनी स्थानीय रेस्टुरेन्टमा शेफको रूपमा काम गर्थे र मृतक तारासँग लिभ–इन सम्बन्धमा थिए । अनुसन्धानबाट विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थाहा भएको छ । तारा पहिल्यै विवाहित र दुई छोराछोरीकी आमा थिइन्। उनी अप्रिल १५ मा हैदराबाद आइन् र विजयसँग बोवराम्पेटस्थित डेरामा बस्न थालिन् ।

मे २३ मा दुबैबिच विवाद भएको र सो विवाद गर्भावस्थाका कारण चर्किएको बताइएको छ। रिसको झोंकमा विजयले तारा बोहरालाई नायलनको डोरो प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या पछि उनले शवलाई ठूलो ट्राभल ब्यागमा हालेर एक सुनसान ठाउँमा लगेर फालेका थिए। एक स्थानिय चौकीदारले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

साइबराबाद प्रहरीका वरिष्ठ अधिकारीहरू के सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीसहित फरेन्सिक टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरिएको थियो । आरोपीलाई पक्राउ गर्न पाँचवटा विशेष टोली गठन गरिएको थियो। सिसिटिभी फुटेज र प्राविधिक प्रमाणको सहायताले प्रहरीले विजयलाई मेढचल जिल्लामा फेला पारेको थियो र पक्राउ गरेको थियो। सोधपुछमा उनले अपराध स्वीकार गरेका छन् ।


