काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए ।
उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।


