काठमाडौं, ११ असार । इजरायल र इरानबीचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणापछि इजरायल र इरान दुवैले यसलाई स्वीकार गरेको पुष्टि गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार खाडी मुलुक कतारले दुई देशबीच युद्धविराम गराउन महत्वपूर्ण भूमिका खेलेको हो । कतारको मध्यस्थतामा मात्र दुवै देशले आक्रमण रोक्न सहमति जनाए ।
यसैबीच, युद्धविरामपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन् ।
नेतान्याहूले यसलाई इरानविरुद्ध ऐतिहासिक विजय पनि भनेका छन् । उनले यो जित पुस्तौपुस्तासम्म सम्झिने उल्लेख गरेका छन् । नेतान्याहूले भने– हामी सिंह जस्तै उठ्यौँ र हाम्रो गर्जनले तेहरानलाई हल्लायो ।
इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको भिडियो सन्देशमा हमासलाई पराजित गर्नुपर्ने र गाजामा रहेका सबै बन्धकहरूको फिर्ती सुनिश्चित गर्नुपर्ने पनि भनिएको छ ।
यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले भने कि इरानले आणविक कार्यक्रम रोक्नेछैन । उनले भने– हामीले यो प्रविधि प्राप्त गर्न धेरै कडा परिश्रम गरेका छौँ । हाम्रा वैज्ञानिकहरूले त्याग गरेका छन् ।
युद्धविरामपछि इरानको राजधानी तेहरानमा पनि विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलोपटक मंगलबार बिहान सामाजिक सञ्जालमार्फत दुई देशबीच युद्धविराम भएको जानकारी दिएका थिए ।
इजरायल–इरानबीचको १२ दिनको युद्धमा दुवैले आफ्नो देशले विजय प्राप्त गरेको दाबी पनि गरेका छन् ।


