२ जेष्ठ २०८३, शनिबार 1778988081
अर्थ

आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग

रौतहट-आईएमई ग्रुपले एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ। डेढ अर्ब रुपैयाँ लागतमा रौतहटमा उद्योग खुलेको हो।

आईएमई ग्रुपले वित्तीय क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेकोमा पर्यटनसँगै उत्पादनमूलक उद्योगमा समेत धमाधम लगानी गरिरहेको छ। नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्रुप अध्यक्ष चन्द्र ढकालले पछिल्ला वर्ष आफ्नो व्यवसायलाई विस्तार गरिररहनुभएको छ। उहाँले केही साझेदारसहित सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याउनु भएको हाे।

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ। एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा चन्द्र ढकालका छोरा निशान ढकाल छन्। उद्योगको प्रबन्धनिर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा छन्।

उद्योगका प्रबन्धनिर्देशक पण्डितले परीक्षण उत्पादन सकेर व्यावसायिक उत्पादन सुरु गर्न लागेको बताउनुभयो। बुधबार औपचारिक रुपमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यसको उद्घाटन गर्ने कार्यक्रम छ। 

नेपालमा प्रिफ्याब उत्पादन गर्ने उद्योगहरुको लागि कच्चा पदार्थ समेत एभरेस्ट फाइबरले उत्पादन गर्नेछ।

उद्योगले सिमेन्ट बोर्डको प्यानल बनाउँदै छ। सिमेन्ट बोर्ड र जिप्सन बोर्डको उपयोग निर्माण क्षेत्रमा एकै किसिमको हुन्छ। जिप्सन बोर्डको तुलनामा सिमेन्ट बोर्डलाई केही बलियो मानिन्छ। पण्डितका अनुसार जिप्सन बोर्ड पुनः प्रयोग गर्न सकिँदैन। सिमेन्ट बोर्ड वाटर प्रुफयुक्त र पुनः प्रयोग गर्न सकिन्छ।