वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । पर्साको परवानीपुरबाट गएराति करिब ३१९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले बताए । परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको उनले बताए ।
बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी बुद्धिबहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ । उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी भनाइ छ । अहिले २ बजे प्रहरीले पत्रकार सम्मेलन गरेर बरामद चरेस र स्याङतानलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।


