काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारी विधेयक छलफलका क्रममा आफूलाई तानातान गर्दा लोगो नै हराएको बताएका छन् । बुधबार समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयकमा आफूले राम्रा व्यवस्था राख्दा हप्कीदप्की र थकाई खानुपरेको गुनासो पनि गरे । उनले सामान्य प्रशासन मन्त्री, शिक्षामन्त्री रघुजी पन्त, दिलेन्द्र बडु र आफूबिच विधेयकमा छलफल भइरहेका बेला कुनै उपप्रधानमन्त्रीको फोन आएको पनि बताए । ‘यो विधेयक मलाई सम्माननीयज्युले आजै पेस गर्नु भन्नुभएको छ, प्रेसर बढी भयो भनेर सामान्य प्रशासन मन्त्रीले भन्नुभयो, रघुजी साँछी हुनुहुन्छ ।
तर रघुजीले होइन आज नगर्ने भन्नुभयो’, सभापति खतिवडाले भने, ‘यो ३ गतेको कुरा ।’ त्यसपछि अवकाश मात्रै भएको राजीनामा र निजामती कर्मचारी भन्ने ठाउँमा अन्य पनि थपेकोमा मन्त्रीले धन्यवाद दिएको बताए । उनले मन्त्रीले रिपोर्ट नै नपाएको भनेर मन्त्रीले झुट बोलेर अन्तरवार्ता दिएको आरोप लगाए । ‘समितिलाई खुइल्याउने काममा केही मानिसहरू लागेको हामीलाई थाहा भयो । सबै कर्मचारी गलत छन् भन्ने होइन तर कतिपय कर्मचारी आफै मात्र खाऔँ भन्ने पक्षमा छन्’, खतिवडाले गम्भीर अपराध भएको बताए ।


