काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिले उनैलाई हानी भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले झाँक्रीले विगतदेखि नै पार्टीप्रति अनास्था र घृणा फैलाउने अभिव्यक्ति दिँदै आएको उनले बताए । उनले आफूले दुई वर्ष अद्धि भालुवानको मिटिङमा झाँक्रीलाई बोलाउँदासमेत ‘युवाहरु, तपाईँहरु यो पार्टीमा किन बस्नुहुन्छ ?’ भन्दै उत्तेजित अभिव्यक्ति दिएको उनले स्मरण गरे । पार्टी अध्यक्ष नेपालविरुद्ध झाँक्रीले दिएको अभिव्यक्तिले ठूलो नोक्सान उनैलाई भएको नेता पाण्डेले बताए ।
‘उहाँले जुन शब्द प्रयोग गर्नुभयो, त्यो शब्दले उहाँलाई धेरै ठूलो नोक्सान भएको छ । माधव नेपाललाई केही नोक्सान भएको छैन । रामकुमारी झाँक्रीलाई ठूलो नोक्सान भएको छ,’– उनले भने । साथै, एमाले फुटाएर एकीकृत समाजवादी बनाउनुमा झाँक्रीको निकै ठूलो हात रहेको उनले बताए । अवसरको लागि झाँक्रीले पार्टी फुटाउने प्रपञ्च गरेको उनको आरोप छ । पार्टी फुटाउन झाँक्रीले अध्यक्ष नेपालको कोटको बाहुला समाएर निर्वाचन आयोगमा पुगेको पनि उनले स्मरण गराए । झाँक्रीले अवसरको निम्ति निकै ठूलो ज्यादती गरेको उनको आरोप छ ।
‘उहाँ नै हो पार्टी विभाजनको निम्ति सबैभन्दा ठूलो, अवसर लिनको निम्ति माधव नेपाललाई कोटको बाहुलामा समाएर निर्वाचन आयोग लगेको उहाँ हैन । उहाँ मन्त्री बन्नको निम्ति त्यत्रो ठूलो ज्यादती गर्ने मान्छे हो । अवसर पनि लिनुभयो । मन्त्री पनि बन्नुभयो । उहाँलाई जिम्मेवारी पनि दिइयो । पार्टीको सचिवसम्म बनेको मान्छे हो । अहिले उहाँले जुन अभिव्यक्ति दिनुभयो, उहाँको अभिव्यक्तिप्रति कसैको पनि सहमति देख्दिनँ । उहाँलाई त्यसले ठूलो नोक्सान भएको छ,’– उनले भने ।
नेता पाण्डेले झाँक्रीले यस्तै–यस्तै अभिव्यक्ति दिएर आफ्नो राजनीतिक जीवनलाई पछाडि धकेलिरहेको बताए । पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानको क्रममा सर्लाहीमा पनि झाँक्रीले अन्टसन्ट बोलेको कारण कही पनि बोल्ने अवसर नदिएको उनले बताए । नेता अध्यक्ष नेपाललाई नेपालमा मात्रै नभएर संसारमा कही कसैले पनि भ्रष्टाचारी भन्न नसक्ने नेता पाण्डेले बताए । ‘नेपालले मात्रै होइन, संसारको कसैले पनि माधव नेपाललाई भ्रष्टाचारी भन्न सक्दैन, भन्दैन । अहिले सबैलाई, सबैको जिब्रोमा सरकारले अन्याय गर्यो । माधव नेपालजस्तो भ्रष्टाचार नगर्ने मान्छेलाई भ्रष्टाचारको मुद्दा लगायो भनेर सबैले भनेको छ,’– उनले भने ।


