काठमाडौं । सम्पदाले भरिपूर्ण शहर पनौतीको १७ सय ६० मिटर उचाईमा अवस्थित छ ‘डायमण्ड हिल रिसोर्ट’, जहाँ प्रकृति, शान्ति र सुविधा एकसाथ पाइन्छ । त्रिभुवन विमानस्थलबाट २३ किलोमिटर र पनौती बसपार्कबाट ३ किलोमिटरको सवारी दूरीमा रहेको डायमण्ड हिल रिसोर्ट १८० डिग्री भ्यूमा फैलिएको डिलक्स रिसोर्ट हो ।
४० वटा रुमहरुबाट पर्यटकहरुलाई सेवा दिँदै आएको यस रिर्सोटबाट साँझ र विहानको सुनौलो घामले महाभारत पर्वत श्रृंखलालाई छिर्काउँदा मनै लोभ्याउने दृश्य देखिन्छ । पनौतीका हरियाली फाँटहरूको दृश्य र चराचुरुङ्गीको मधुर चिरबिराहटले रिसोर्टमा जाने पर्यटकहरुको दिनको सुरुवात नै विशेष बनाउँछ ।

अझ रमाइलो त के भने, रिसोर्टको आफ्नै बगैंचामा मृग, खरायो, बँदेलहरू स्वतन्त्र रूपमा चरिरहेको देख्दा, प्रकृतिसँगको आत्मीयता अनुभूत हुन्छ । यो स्थान, शान्ति र सुन्दरताको अद्भुत संगम हो ।
साँगाबाट ‘डायमण्ड हिल रिसोर्ट’ सम्म ट्रेकिङ रुटको पनि व्यवस्था रहेको यसका सञ्चालक राजन थापा बताउँछन् । करिब ४ घण्टाको रमाइलो यात्रा तय भएको यस ट्रेकिङ रुटमा उचाइको कुनै जोखिम पनि हुँदैन । सुरम्य डाँडाकाँडा, हरियाली जंगल र शुद्ध हावाले यो ट्रेकिङ अनुभवलाई अझ स्मरणीय बनाउन मद्दत गर्दछ ।
रिसोर्टमा आउने पर्यटकका लागि यहाँ केवल विश्राम मात्रै होइन, विविध अनुभवहरूको अवसर पनि छ । छोटो दूरीको रमाइलो हाइकिङ, हरियाली जंगलबीच साइक्लिङ र समय–समयमा आयोजना गरिने साइक्लिङ इभेन्टले साहसिक पर्यटकलाई लोभ्याउँछ । अब चाँडै रिसोर्टले प्याराग्लाइडिङ सुविधा पनि सुरु गर्न लागेको छ, जसको लागि आवश्यक अनुमति प्रक्रिया पूरा भइसकेको सञ्चालक राजन थापा बताउँछन् । धार्मिक र सांस्कृतिक यात्रामा रुची राख्ने पर्यटकका लागि रिसोर्टको छेउमै रहेको आदित्य मोक्षधाम र पनौतीका ऐतिहासिक मन्दिरहरूले थप आकर्षण सिर्जना गर्छन् । त्यस्तै, सलसल बग्ने फुलचोकी र लिलावतीमा फिसिङको मज्जा पनि पर्यटकले लिन पाउँछन् ।
उन्नत सुविधा, स्थानीय स्वाद र प्राकृतिक अनुभव
डायमण्ड हिल रिसोर्टका सञ्चालक थापाका अनुसार, यहाँ पाँचतारे होटलभन्दा पनि उत्कृष्ट रुम सुविधा र वेल–फर्निसिङ कोठाहरू उपलब्ध छन् । प्रत्येक कोठामा अट्याच बाथरुमसहित बाथटपको सुविधा छ, जसले पाहुनालाई पूर्ण आरामको अनुभूति दिन्छ ।
यहाँको खानामा मौलिकतालाई विशेष ध्यान दिइएको छ । पनौतीमै उत्पादन भएका ताजा तरकारीहरू प्रयोग गरी तयार गरिने स्थानीय परिकारहरू विदेशी पर्यटकसमेतले अत्यन्त रुचाउने गरेका छन् । उनी भन्छन्, ‘स्वाद र स्वास्थ्य दुवैको सन्तुलन यहीँ पाइन्छ ।’ डायमण्ड हिल रिसोर्टले पर्यटकहरूका लागि हाइकिङदेखि ट्रेकिङसम्मका कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यसले विदेशी पाहुनाहरूको बसाई अवधिलाई बढाएको छ । हालै मात्र ३३ जनाको अमेरिकी टोलीले लगातार १० दिनसम्म यहाँको सेवा, स्वाद र शान्त वातावरणको आनन्द लिएका थिए ।
सञ्चालक थापा भन्छन्, ‘हामीले दिने सेवा र यहाँको वातावरण नै पर्यटक दोहोरिनु पछाडिको मुख्य कारण हो । ती पाहुनाहरू त हाम्रा नियमित अतिथि भइसकेका छन् ।’
यस रिसोर्टमा आन्तरिक र बाह्य पर्यटकहरूको निरन्तर आगमन भइरहेको छ, तर सञ्चालक थापाका अनुसार कर्पोरेट व्यवसायले यस स्थलको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । शान्त वातावरणको कारण बैंक, नगरपालिका, विद्यालय, तथा विभिन्न संघसंस्थाहरूले यहाँ आयोजना गर्ने सेमिनार र गोष्ठीहरू नै रिसोर्ट सञ्चालनको मुख्य आधार बनेका छन् ।
कसरी जन्मियो डायमण्ड हिल रिसोर्ट
सन् १९९५ देखि पर्यटन क्षेत्रमा सक्रिय रहेका राजन थापाको यो सपना तत्कालीन युरोपियन नागरिकसँगको सहकार्यबाट सुरु भएको थियो, जो उनका बोस पनि थिए । एकदिन उनी आफ्नो युरोपियन बोससँग पनौतीबाट हिँड्दै घरतर्फ जाँदै थिए, त्यही क्रममा एक सुन्दर डाँडो पार गर्दा उनका बोसले यस ठाउँको सुन्दरता र सम्भावना बताएका थिए । त्यो वाक्य थापाको मनमा बस्यो र यही प्रेरणाले जन्म दियो ‘डायमण्ड हिल रिसोर्ट ।’
सन् २०१९ मा, जब विश्वभर कोरोना महामारी फैलिएको थियो, राजन थापा भने लगातार रिसोर्ट निर्माणमा व्यस्त थिए । उनी भारतबाट ल्याएको सय जनाको टिमलाई यहाँ राखेर तीव्र गतिमा काम गरिरहेका थिए । ७० करोड रुपैयाँको लगानीमा तयार भएको यो रिसोर्ट सन् २०२२ देखि सञ्चालनमा आएको हो र अहिले आन्तरिक र विदेशी पर्यटकहरूको मनपर्ने गन्तव्य बनिसकेको छ ।
देशप्रेम र पर्यटनप्रतिको लगाव
अध्ययनको सिलसिलामा युरोपमा रहेका राजन थापालाई जन्मभूमिको मायाले तानिरह्यो र फर्किए देशभित्रै रोजगारी सिर्जना गर्न र आफू जन्मिएको ठाउँलाई ‘टुरिजम हब’ बनाउन । उनी भन्छन्, ‘किसानले उत्पादन गर्ने आलु यहीँ बिक्नुपर्छ, दूध यहीँ बिक्नुपर्छ र हाम्रो ठाउँ कति सुन्दर छ भनेर हामीले विश्वलाई चिनाउनुपर्छ भन्ने धारणाले नै म फर्किएको हुँ । ’ उनी नेपालको पर्यटन क्षेत्रमा विशाल सम्भावना देख्छन् । व्यक्तिगत रूपमा त धेरै प्रयास गरिरहेका छन्, तर पर्यटन प्रवर्द्धन र सेवा सुविधा विस्तार सरकारकै प्राथमिकतामा आउनुपर्ने उनको भनाइ छ ।
सञ्चालक थापाको बुझाइमा मार्गहरूको सहज पहुँच, पर्यटकीय क्षेत्रसम्म विद्युत् र बाटोको पहुँच, सेवा सुविधामा पूर्णता जस्ता कुरामा सरकारले ध्यान दिने हो भने नेपालको पर्यटन क्षेत्र देशको समृद्धिको आधार बन्न सक्छ ।
अन्तत : डायमण्ड हिल रिसोर्टले प्राकृतिक सौन्दर्य र आधुनिक सुविधाको मिलनमार्फत शान्ति, आराम र सांस्कृतिक पहिचानको उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल भएको छ ।


