काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई-पे र खल्तीलाई एक–आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।
अब यी दुई कम्पनीले आगामी १ साउनदेखि एकीकृत कारोबार पनि सुरु गर्ने भएका छन् । राष्ट्र बैंकले बिहीबार एक सूचना सार्वजनिक गर्दै १ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने बताएको छ ।

गत ४ फागुनमा आइएमई पे र खल्तीबिच मर्जरका लागि समझदारी भएको थियो । त्यसपछि थप प्रक्रिया पूरा भएपछि केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो । नेपालमा वालेट कम्पनी मर्ज भएको यो नै पहिलो हो ।
आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात् आधिकारिक रूपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा रहने छ । संयुक्त कारोबार पश्चात् आधिकारिक रूपमा एपको नाम भने खल्ती नै रहने छ । खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ ।

नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।


