४ आश्विन २०८१, शुक्रबार 1726864252
Banner

स्थगीत भएका १९ मतदान केन्द्रमा आज निर्वाचन हुँदै

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगीत भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आज, भोलि र पर्सि निर्वाचन हुने भएको छ ।

स्थगन भएकामध्ये १० मतदान स्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदान स्थलमा निर्णय हुन बाँकी छ। तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो।

निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने मतदान स्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविको २ केन्द्र, कालिकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालिकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ।

जेठ २ गते निर्वाचन हुने मतदान स्थलमा धनकुटाको शहीद भूमि गाउँपालिकाको ठाकुर देवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन्।

जेठ ३ गते निर्वाचन हुने मतदान स्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।