४ आश्विन २०८१, शुक्रबार 1726871317
Banner

मतगणना धमाधमः कांग्रेस एमालेबीच टक्कर

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहँदा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचमा नै कडा टक्कर देखिएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही स्थानमा सोही दिन र केही स्थानमा शनिबार बिहानबाट सुरु भएकोमा शनिबार राति १२ बजेसम्मको परिणाम हेर्दा कांग्रेस र एमालेबीचमा नै प्रतिस्पर्धा हुने देखिएको हो ।

शनिबार राति १२ बजेसम्मको परिणामअनुसार ६ वटा स्थानीय तहको प्रमुख÷अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ५ स्थानीय तहमा एमालेका उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका छन् ।

यसैगरी, कांग्रेसबाट पाँच प्रमुख÷अध्यक्ष तथा पाँच जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका २ प्रमुख÷अध्यक्ष निर्वाचित हुँदा एक उपप्रमुख÷उपाध्यक्ष निर्वाचित बनेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रका एक जना प्रमुख÷अध्यक्ष विजयी बन्दा २ जना उम्मेदवार उपप्रमुख÷उपाध्यक्षतर्फ विजयी भएका छन् ।

गाउँको सिंहदरबारको रुपमा मानिएको स्थानीय तहको नेतृत्व चयनका लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । तीमध्ये स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।

स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् । निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता कायम थिए । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल निर्धारण गरेको थियो भने देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम थियो ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

देशका ७ सय ५३ स्थानीय तहमध्ये १६ जिल्लाका २८ स्थानीय तहका ४३ मतदान स्थलअन्तर्गतका ७७ केन्द्रबाहेकमा शुक्रबार स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो । निर्वाचन आयोगका अनुसार २१ हजार ८ सय ७८ केन्द्रमा मतदान भएको हो ।

केही स्थानीय तहमा भने राजनीतिक दलबीचको विवाद र झगडाका कारण छिटपुट घटना भएपछि निर्वाचन स्थगित गरिएको तथा केही स्थानमा खराब मौसमका कारण पनि मतदान स्थगित भएको थियो ।

गणनामा कांग्रेसलाई देशभर अग्रता
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शनिबार राति ११ बजेसम्मको प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेसले २ सय ५९ स्थानीय तहमा अग्रता लिएको छ । यसैगरी, कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले १ सय ६२ स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले सोही समयसम्म १ सय स्थानीय तहमा अग्रता कायम राखेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १३ तहमा अग्रता कायम गर्दा जनता समाजवादी पार्टी (जसपा)ले १४ स्थानमा अग्रता लिएको छ ।

२०७४ मा एमालेले २ सय ९८ स्थानीय तह जितेर पहिलो दल बनेको थियो तर २०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेले पुरानो वर्चस्व जोगाउन कठिन देखिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र जनमोर्चा गरी पाँच दल केही स्थानीय तहमा गठबन्धसहित चुनावी मैदानमा छन् । यस्तै, एमालेले पनि राप्रपा नेपाल, नेपाल परिवार दललगायतसँग गठबन्धन बनाउँदै चुनावी मैदानमा होमिएको हो ।

कहाँ को विजयी ?
एमाले
रिङजीन नामगेल गुरुङ (वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ, अध्यक्ष)
कान्छा घले (मनाङ ङिस्याङ गाउँपालिका, मनाङ, अध्यक्ष)
टसी न्हर्वु गुरुङ (लोमन्थाङ गाउँपालिका, मुस्ताङ, अध्यक्ष )
लोकेन्द्रबहादुर घले (चामे गाउँपालिका, मनाङ, अध्यक्ष)
लोप्साङ छोम्पेल विष्ट (लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ, अध्यक्ष)
धावा सम्डुक गुरुङ से फोक्सुण्डो गाउँपालिका, अध्यक्ष

कांग्रेस
मोहन सिंह लालचनः घरपझोङ गाउँपालिका, मुस्ताङ, अध्यक्ष
इन्द्रबहादुर कार्की गन्यापधुरा गाउँपालिका, डडेलधुरा, अध्यक्ष
कोन्जो तेन्जिङ लामा नार्पा भूमि गाउँपालिका, मनाङ, अध्यक्ष
खिलध्वज पन्थी रेसुंगा नगरपालिका, गुल्मी, प्रमुख
धनबहादुर गुरुङ, नार्सो गाउँपालिका, अध्यक्ष

माओवादी केन्द्र
नारा सिं रोकाया जगदुल्ला गाउँपालिका, डोल्पा, अध्यक्ष

एकीकृत समाजवादी
सेनाङ गुरुङ छार्का ताङसोङ गाउँपालिका, डोल्पा
अंगदकुमार राना काइके गाउँपालिका प्रमुख

राजधानी दैनिकबाट