काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरिसकेको विषय पार्टीमा छलफलको विषय बनेको बताएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा विद्या भण्डारी र जिम्मेवारीबारे औपचारिक रुपमै छलफल प्रारम्भ भएको हो । एमाले सचिव योगेश भट्टराईले भण्डारी आइसकेपछि पार्टीमा छलफल हुने र त्यो पार्टीको विषय बनेको बताए ।
‘उहाँ पार्टीमा सक्रिय हुन आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला, सम्मानजनक ठाउँ पनि खोज्नुपर्ला । यो विषय पार्टीको हाइलेवलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना छ’, भट्टराईले भने, ‘अध्यक्षले उहाँसँग संवाद गरेर प्रस्ट होस् भन्ने चाहाना छ । त्यसपछि हामी पार्टी कमिटीमा छलफल गर्छौ ।’
उनले त्यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आवश्यक परे छलफल गरौँला भनेको र आज सम्भव नभए अरू बैठकमा छलफल गर्न सकिने बताएको जानकारी दिए । भट्टराईले भण्डारीले पार्टी प्रणाली र सिस्टम बुझेकाले पार्टी प्रणालीबाटै जाने भन्दै सम्मानजनक ढङ्गले व्यवस्थापन (सेटल) गर्ने क्षमता एमालेमा रहेको बताए ।


