काठमाडौं । बजाजको विद्युतीय स्कुटर (ईभी) नेपाल भित्रिएको छ । बजाजको ‘चेतक ३५०१’ मोडल नेपाल भित्रिएको हो ।
हाललाई टेस्टका लागि केही युनिट मात्रै नेपाल भित्र्याइएको बजाज ब्राण्डको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी हुलास अटो क्राफ्ट प्रालिले जनाएको छ । कम्पनीका अनुसार उक्त स्कुटर आगामी नाईमा मोबिलिटी एक्सपोमा सार्वजनिक तथा प्रदर्शनी हुँदैछ ।

एक पटक फुल चार्ज गरेपछि १५३ किलोमिटर गुड्ने सो स्कुटरमा ३.५ किलोवाटको ब्याट्री रहेको छ । ३ घण्टामा नै ८० प्रतिशत चार्ज हुन्छ । डिक्स ब्रेक रहेको सो स्कुटर ७३ किलोमिटर प्रतिघण्टा स्पीडसम्म कुद्छ ।
३५ लिटर बराबरको अन्डर सिट स्टोरेज, लिथियम आयन ब्याट्री, वाटार प्रुफ रेटिङ आईपी६७, ४ किलोवाटको स्थायी चुम्बक तुल्यकालिक मोटर लगायतका फिचर रहेको सो स्कुटरमा ३ वर्ष तथा ५० किलोमिटरको वारेन्टी रहेको छ । सो स्कुटरमा ५ इन्चको रंगीन टीएफटी डिस्प्ले रहेको छ, जुन ब्लुतुथबाट फोनसँग जडान गर्न सकिन्छ । रिभर्स मोडको अप्सन समेत रहेको छ भने ओभर स्पीड भएमा चेतावनी दिने एआई प्रविधि रहेको छ ।
भारतमा सो स्कुटरको मूल्य १ लाख ४२ हजार देखि एक लाख ५० हजार भारूसम्म रहेको छ ।


