१ जेष्ठ २०८३, शुक्रबार 1778896706
Banner

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता-पुस्तासम्म विस्तार गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल-चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यत्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताउनु भयो।

‘यसले पुस्ता-पुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ। बहुआयामिक सम्बन्धलाई बढाउँछ। सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन। मित्रताका लागि गच्छे चाहिँदैन। गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ। अझ व्यापक बनाइनेछ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गर्नुभएको थियो ।