झापा । झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरूको सङ्ख्या बढिरहेको छ । साउन १ गते ४ सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा २ गते ३ सय ८१ र ३ गते ४ सय ८१ जनाले अवलोकन गरेका सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए ।
बिहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ भने प्रति व्यक्ति प्रवेश शुल्क एक सय तोकिएको छ । सहरी विकास मन्त्रालयले साउन १ बाट परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सो कम्प्लेक्स सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो उक्त कप्लेक्स १८ तलाको छ । यो कम्प्लेक्स ७२ मिटर उचाइ कङ्क्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको रहेको छ । यो धरहराभन्दा अग्लो छ ।


