१ जेष्ठ २०८३, शुक्रबार 1778894492
अर्थ

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आइपीओ सम्झौता

काठमाडौं। स्वदेशमै अन्डरग्राउन्ड केबल उत्पादन गर्न सारथी केबल इन्डष्ट्रीज लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनी व्यवस्थापन र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) सम्बन्धी सम्झौता भएको छ।

काठमाडौंमा बुधबार सारथीका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सारथी केबलले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो। यो आइपीओमार्फत नेपाली नागरिकले सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ। आइपीओबाट संकलित रकम अन्डरग्राउन्ड केबल उत्पादनमा प्रयोग हुने कम्पनीले उल्लेख गरेको छ।

साथै अत्याधुनिक प्रविधि प्रयोग गरी आल्मुनियम फर्नेन्स प्लान्ट पनि जडानको लक्ष्य छ। ‘यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।