काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज नहुने जिकिर गरेकी छिन् ।
बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् । उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन ।’

उनले यी सबै कुराहरू भावनामा बगेर नबोलेको पनि पत्रकार सम्मेलनको क्रममा स्पष्ट पारिन् । सबैलाई छोटकरीमा सम्बोधन गर्दै उनले आफू एमालेमै रहेको र सदस्यता यथावत् रहेको दाबी गरिन् । एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो ।
पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।


