काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने माग गरेकी छन्। आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले राईको भूमिकामै प्रश्न उठाएकाले उनीमाथि महाभियोग लगाउनुपर्ने तर्क गरिन्।
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको थियो। जसमा विशेष अदालतले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै राईको भूमिकामाथि गम्भीर प्रश्न उठाएको थियो। विमान खरिदको निर्णय प्रक्रिया अघि बढाउँदा राई नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव थिए।
‘अख्तियार दुरुपयोग, भ्रष्टाचार वा आर्थिक अनियमितता गरेमा त्यसको अनुसन्धान गरी मुद्दा चलाउने जिम्मेवारी अख्तियारलाई जनताले दिएका छन्,’ पन्तले भनिन्, ‘तर रक्षक नै भक्षक भयो भने के हुन्छ ? जनताले कसलाई विश्वास गर्ने ?’
उनले विशेष अदालतको फैसलालाई उद्धृत गर्दै भनिन्, ‘विशेष अदालतले निर्णय गर्दाका बखत रहेका अन्य सदस्यहरूलाई मुद्दा अभियोजन गरिएको तर अध्यक्ष राईमाथि अभियोजन नगरी चयनमुखी दृष्टिकोण अपनाइएको प्रति आपत्ति जनाएको छ।’ पन्तले प्रमुख आयुक्त राईले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएर अनुसन्धानको सामना गर्नुपर्ने, नभए सरकारले यस विषयमा बोल्नुपर्ने बताइन्।
‘कि प्रमुख आयुक्त आफैं बोल्नुपर्यो, राजीनामा दिएर ममाथि पनि अनुसन्धान होस् भन्नुपर्यो। होइन भने कि सरकार बोल्नुपर्यो,’ उनले भनिन्, ‘उहाँ आफैँ पनि बोल्नुहुन्न, सरकार पनि बोल्दैन।’


