नवलपरासी । प्रतिनिधिसभा सांसद् बिनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा भूमिहीन, अव्यवस्थित र सुकुम्बासी जनतालाई लालपुर्जा वितरण गरेका छन् ।
जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै सांस्द चौधरीले स्थानीय जनताको वर्षौँदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका छन् ।

उनले भनेका छन्, ‘वर्षौँदेखि थन्किएको नागरिकताको सवाल होस् वा जग्गा स्वामित्वको, हामीले चुनावमा गरेका वाचा अब कार्यान्वयनको चरणमा छन् । लालपुर्जा वितरण केवल स्वामित्व होइन, यो आत्मसम्मान, आत्मबल र आर्थिक समृद्धिको कडी हो।’
उनले लालपुर्जाको अर्थ आर्थिक स्वतन्त्रताको ढोका खुल्ने भएको उल्लेख गर्दै यसको माध्यमबाट बैंक ऋण, बालबच्चाको शिक्षा र व्यावसायिक अवसरको बाटो खुलेको बताए। ‘यो एउटा कागज मात्र होइन, यो पुस्तौँदेखि भोग्दै आएका जमिनको आधिकारिक पहिचान हो, जुन अब समृद्धिको आधार बन्नेछ ’ चौधरीले भने।
दुई वर्षदेखि चलिरहेको प्रयासले लियो गति
सांसद् चौधरीकाअनुसार गत दुई वर्षदेखि विभिन्न अवरोधकाबीच यो प्रक्रिया अघि बढाइए पनि हाल लालबहादुर खनाल नेतृत्वको स्थानीय सरकार र भूमिसम्बन्धी आयोगको सक्रियता एवं समन्वयबाट कामले गति लिएको हो। उनले मेयर खनाललाई उपकरण, जनशक्ति र व्यवस्थापनमा गरेको सक्रिय सहयोगका लागि विशेष धन्यवाद दिए।
कार्यक्रममा चौधरीले जिल्लाको करिब २२ हजार नागरिकलाई क्रमशः जग्गाधनी प्रमाणपत्र वितरण गरिने लक्ष्य रहेको पनि खुलासा गरे। बर्दघाट क्षेत्रका ७ हजार ५ सय नागरिक अहिले लाभान्वित भएको जानकारी दिँदै उनले लालपुर्जा वितरणलाई विकासको मूर्त सुरुवातका रूपमा उल्लेख गरे।
चौधरीले आफ्नो कार्यकालमा थुप्रिएका योजनाहरूलाई छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता दोहोर्याउँदै बर्दघाटको चिसापानी ट्रमा सेन्टर, डायलाइसिस केन्द्र, उद्योग ग्राम, पोलिटेक्निक तालिमहरू, खजुरा पुल र हुलाकी सडक लगायतका अधुरा योजनाहरू बारेमा उल्लेख गरे।
उनले खजुरा पुलको निर्माणमा भएको ढिलाइलाई वैकल्पिक स्रोतबाट समाधान गरी काम अघि बढाइएको र हुलाकी सडकको पनि अब पुनः निर्माण प्रक्रिया सुरु भएको जानकारी दिए। ‘विकासमा अवरोध नहोस् भनेर हामी ठेकेदारलाई मात्रै भर नपरी वैकल्पिक बाटाहरू अपनाउँदै अगाडि बढिरहेका छौँ,’ उनले भने।
विकासको यात्रामा सबैको साथको आह्वान
कार्यक्रममा चौधरीले राजनीतिक दलहरूलाई पनि समावेशी सहभागिताको सन्देश दिँदै जनताको कार्यक्रममा नआउने प्रवृत्तिको आलोचना गरे। “निर्वाचनका बेला प्रतिस्पर्धा गरौँ, तर जनताको साझा विकासमा भने सबै मिलेर लागौँ,” उनले आग्रह गरे। उनले सामाजिक सद्भाव र विकासलाई जोड्दै शालीन विरोधको अभ्यास गर्न पनि नेताहरूलाई सुझाव दिए।
सांसद् चौधरीले बर्दघाट क्षेत्रलाई प्रदेशको अग्रगामी विकास मोडेलका रूपमा स्थापित गर्ने आफ्नो अठोट पनि व्यक्त गरे। उनले भने, ‘यो ठाउँ सधैं उपेक्षित रह्यो, अब हामी सबैको साझा प्रयासले यसलाई एक उदाहरणीय नगर बनाउनेछौँ।’
कार्यक्रमको अन्त्यमा उनले भूमि आयोग, समस्या समाधान समिति, स्थानीय सरकार र कर्मचारीहरूलाई समर्पित योगदानका लागि धन्यवाद दिँदै यो कार्य कुनै पार्टीको नभई जनताको अधिकार प्राप्तिको ऐतिहासिक चरण भएको बताए।
कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले पनि आयोगले निष्पक्ष र प्रभावकारी रूपमा काम गर्दै आएको जानकारी दिए।


