काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रुपमा मनाउने बताउनुभएको छ । उहाँले पार्टीले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने बताउनुभयो।

आज पार्टी केन्द्रीय कार्यलयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरुका संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति,विधी र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरु गर्ने बताउनुभयो । ‘नेतृत्व छान्ने महाधिवेशन र नीति बनाउने महाधिवेशन एकै पटक हुँदा नीतिका कुरा ओझेलमा परे । नेतृत्वका बारेमा मात्र बहस र प्रतिष्पर्धा भए’ महासचिव पोखरेलले भन्नुभयो ‘जसले गर्दा एमालेले २०७८ सालमा पहिलो प्रथम र यसपाली दोस्रो पटक विधान महाधिवेशन गर्न लागेको हो ।’ पार्टीको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराईज हलमा हुदैछ । महाधिवेशनका सन्दर्भमा पार्टीले व्योहोरेका उतार चढाव,सरकारको नेतृत्व गर्दा हासिल गरेका उपलब्धी आदिका बारेमा ब्यापक चर्चा परिचर्चा गरेको जनजनमा विधान महाधिवेशनका सन्दर्भमा चासो र जिज्ञासा जागरण गराउनु पर्ने महासचिव पोखरेलको धारणा छ ।

उहाँले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकारले समाधान गरिएको बताउनुभयो । यस विषयलाई पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट उछालिएको स्पष्ट भएको उहाँको भनाइ छ । ‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको सन्दर्भ पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट बढी उचालिएको रहेछ भन्ने कुरा साउन ६ गते सकिएको केन्द्रीय कमिटीबाट स्पष्ट भयो’ महासचिव पोखरेलले भन्नुभयो ‘केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा उहाँलाई सम्माननीय कै स्थानमा बस्ने निर्णय लियो । यसबाट पुष्टि हुन्छ कि पार्टी भित्रका भन्दा पनि पार्टी बाहिरका हरु उहाँलाई सक्रिय राजनीतिमा ल्याएर विवादमा पार्न चाहन्थे । ’
पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नविकरण विशिष्ट प्रकारको विषय भएकोले यसका लागि विशेष निर्णय नै चाहिएको उहाँले स्पष्ट पार्नुभयो । सदस्यता नविकरणका विषयमा कतिपयले हल्का टिप्पणी गरेको पाइएको र यस विषयको गहिराईमा उनीहरु नपुगेको बताउनुभयो । ‘पार्टीबाट रिसाएकाहरुलाई पनि फकाएर सदस्यता नविकरण गरिन्छ । त्यसैले नविकरण गर्छ भनेर स्वतस्फूर्त भन्नेको नविकरण हुनुपर्ने हो’ महासचिव पोखरेलले भन्नुभयो ‘उहाँ विशिष्ट व्यक्तित्व हो । सम्मानित व्यक्तित्व हो । त्यसैले पार्टीले पनि विशिष्ट प्रकारले सम्मानजनक निर्णय गरेको छ । ’
महासचिव पोखरेलले एमालेका अर्थमन्त्री भएका बेला राजश्व वृद्धि र अर्थतन्त्रमा व्यापक सुधार हुने गरेको बताउनुभयो । ‘जब एमालेको सरकार हुन्छ र अर्थमन्त्री पनि एमालेका हुन्छन् तब राजश्व वृद्धि र अर्थतन्त्रमा सुधार हुने गरेको छ ’ महासचिव पोखरेलले भन्नुभयो ‘अन्य पार्टीका अर्थमन्त्री भएका बेला र हाम्रो पार्टीका अर्थमन्त्री भएका बेलाको अवस्था तपाईंहरुले पनि तुलना गर्नसक्नुहुन्छ । ’ बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक साताभित्र विभागले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत कार्ययोजना बनाएर पार्टी केन्द्रीय कार्यालयमा बुझाउने बताउनुभयो । उहाँले केही दिन अघिको केन्द्रीय कार्यलय बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको तयारीका सन्दर्भमा नेताहरुलाई दिएको जिम्मेवारीका बारेमा जानकारी गराउनुभयो ।


