काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ परेका छन् । काठमाडौँ, कैलाली, सिरहा, चितवन लगायतका जिल्लाबाट २८ जना पक्राउ परेका हुन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट अवैध लागूऔषध कोकिन १ किलो ९ सय ५० ग्रामसहित ब्राजिलियन नागरिक २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरा बुधबार पक्राउ परेकी छिन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरीले ब्राजिलबाट दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेकी उनलाई जाँच गर्न क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । काठमाडौँ तारकेश्वर नगरपालिका–११ आनन्द टोलबाट गाँजा करिब ५ किलो ९ सय ४० ग्राम सहित नुवाकोट ककनी गाउँपालिका–५ घर भएका २५ वर्षीय सुजन तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा. ४८ प. ८७०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक सुजनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । यसैगरी काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरबाट नोर्फिन ६२ एम्पुल, फेनारगन २९ एम्पुल, डाईजेपाम ५६ एम्पुल र नगद २ हजार ६ सय ६० रुपैयाँसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ३६ वर्षीय नवराज नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ ग्राम ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने उदयपुर गढी नगरपालिका–१ घर भएका २४ वर्षीय दिलबहादुर सार्की र हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल घर भएका २४ वर्षीय दिल बहादुर लो तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टबा गाँजा करिब ४ किलोग्रामसहित मनहरी गाउँपालिका–७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको ना.६ ख ९५३३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यस्तै सिराहाको सिरहा नगरपालिका–९ गुलरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २६ मिलिग्राम सहित सोही नगरपालिका–२२ बस्ने ३२ वर्षीय रोशनकुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित दार्चुला होटल एण्ड रेष्टुरेण्टबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम ८ सय ६० मिलिग्राम सहित होटल सञ्चालक दार्चुला नौगाड गाउँपालिका–४ बस्ने २२ वर्षीय मानबहादुर ठगुन्ना समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय सुमित बादीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर बजारबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित कपिलवस्तु नगरपालिका–१ मस्जित टोल बस्ने ४५ वर्षीय हमिद मुसलमानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ३० हजार रुपैयाँसहित सोही नगरपालिका–२ शंकरटोल बस्ने ४६ वर्षीय दीपनारायण कुर्मीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१० भरतपुर सरकारी अस्पतालबाट ट्रामाडोल ४ सय ९४ ट्याब्लेट र एनारगन १ सय ९४ ट्याब्लेट सहित सोही महानगरपालिका–१४ बस्ने २० वर्षीय प्रितम विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही अस्पतालमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी चितवनको भरतपुर महानगरपालिका(१ आँपटारीचोकबाट ट्रामाडोल १ सय ट्याब्लेटसहित तनहुँ देवघाट गाउँपालिका–५ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रतिराम थारु र २९ वर्षीय कन्हैया थारु रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बाँकेको खजुरा गाउँपालिका–७ गुनाहानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इमरान तेलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै झापाको दमक नगरपालिका–४ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ चियादोकान बस्ने २६ वर्षीया ज्योति राई तामाङ समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पासाङ तामाङको घर तलासी गर्दा उक्त पदार्थ फेला उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार पासाङको खोजी गरिरहेको छ । उता बझाङको जयपृथ्वी नगरपालिका–९ बाट चरेशजस्तो देखिने पदार्थ १ किलो ६ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका–२ घर भएका ३२ वर्षीय शेरबहादुर बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१६ मझगाउँबाट बुप्रेनोर्फिन ३३ एम्पुल, प्रोमेथाजाइन ३३ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित सोही नगरपालिका–४ बस्ने कैलाली घर भएका ३४ वर्षीय लोकेन्द्रबहादुर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यता ललितपुरको ललितपुर महानगरपालिका–१५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र डाईजेपाम ५२ एम्पुल र नगद १ लाख १५ हजार ४ सय २८ रुपैयाँ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ मुलपानी बस्ने काभ्रे पनौती नगरपालिका–१ घर भएका ३८ वर्षीय वीरध्वज तामाङ, २८ वर्षीय जीवन लामा र काठमाडौँ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय जीवन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


