काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतबिच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताएकी छन् । उनले आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरिन् । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूताबासद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रूपमा रहेको भन्दै दुई देशबिचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गरिन्।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकाङ्क्षाहरूमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताइन् । नेपाल भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुई देशबिचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको पनि उनले बताइन् । ।
मन्त्री डा.राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबिचको सहकार्य आगामी दिनहरूमा अझ आवश्यक रहेकोमा पनि जोड दिइन् ।
यसअघि आजै मन्त्री डा राणाले भारतीय विदेशमन्त्री डा एस जयशंकर मार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको बताएकी थिइन् ।


