काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भारत भ्रमणको निम्ताका लागि आउन लागेको जनाइएको छ। आगामी भदौं १४ देखि बेइजिङको भ्रमणमा जान लागेका औली त्यस लगत्तै भदौ ३१ र असोज १ गते भारत भ्रमण जाने जनाइएको छ। उनले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले पठाउने निम्तापत्र औपचारिकरुपमा हस्तान्तरण गर्ने बताइएको छ ।
मिश्रीले काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्चनेतृत्वसँग शिष्टाचार भेट गर्नेछन्। दुई नेताबीच भारतको बिहार राज्यमा रहेको बोधगयामा हुने नेपाल र भारतका प्रधानमन्त्रीहरुबीचको द्विपक्षीय वार्ताका एजेण्डाहरुमा पनि दुईदेशका विदेशसचिवहरुले छलफल गर्ने जनाइएको छ।


