४ आश्विन २०८१, शुक्रबार 1726880964
Banner

९ वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा

सर्लाही – मतपेटिकाबाट नौ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् ।

आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार ४२७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणको क्रममा मतपेटिका खोल्दा एक हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको थियो ।

नौ वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् । यता, लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएरातिनै लालबन्दी-८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा गरेको छ । पाख्रिन ४६० मतसहित विजयी भएका थिए ।

निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ मतमात्र पाएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ । लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा नौ मत कम देखिएको स्वीकार गर्नु भयो । उहाँले यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताउनु भयो ।